काठमाडौं– सत्तारुढ दल एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको छ। बिहीबार बसेको उक्त दलको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
दलको बैठकपछि संचारकर्मीसँग बोल्दै सांसद राजेन्द्र पाण्डेले उक्त जानकारी दिएका हुन्। एकीकृत समाजवादीले दलका नेता माधव नेपाललाई प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गरेर बजेटको असन्तुलन मिलाउने जिम्मा दिएको छ।
‘यथास्थितीमा यो बजेट पारित गर्नु हुन्न भन्ने कुरा साथीहरुले बताउनु भएको छ। यही विषयलाई लिएर दलको नेतालाई भनेका छौं–तपाईंले प्रधानमन्त्री, अर्थमन्त्रीलाई राख्नुहोस्। अर्को पनि सुझाव साथीहरुबाट आएको छ– गठबन्धनका सबै दलहरुका बीचमा एउटा छलफल गरेर साझा ढङ्गले छलफल गर्नु होस् भनेका छौ,’ सांसद पाण्डेले भने।
एकीकृत समाजवादीले बजेटमा देखिएको असन्तुलनलाई सन्तुलित बनाएर मात्र पारित गर्न सक्ने जनाएको छ। एकीकृत समाजवादीले बजेट प्रधानमन्त्रीको क्षेत्र, कांग्रेस सभापतिको क्षेत्र, अर्थमन्त्रीको गृहजिल्लामा अधिक विनियोजन भएको भन्दै आपत्ति जनाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।