काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थालेको बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।
उनले समाज परिवर्तनका लागि तयार भइसकेको कुरा मतपत्रमा जायर हुन थालेको दाबी गरे। उनले त्यसको स्पष्ट संकेत देखिइसकेको बताए।
सभापति लामिछानेले आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रुपमा बितेको बताए। रास्वपालाई जनताले आशा र भरोसाको रुपमा लिएको उनको दाबी छ।
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताए।
उनले आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताए। दुई जनालाई पार्टी प्रवेश गराउन सके खुशीको कुरा हुने उनको भनाइ छ।
सभापति लामिछानेले आफूहरु संगठन निर्माण र सुदृढीकरणमा लागिरहेको बताएका छन्। कार्यक्रममा बोल्दै बिहीबार नै पार्टी प्रवेश गरेका अनिल केशरी शाहले पार्टी सभापति रवि लामिछाने र आफ्नो सोच मिलेको कारण आफू पार्टी प्रवेश गरेको बताए।
उनले देशमा नेतृत्वको अभाव रहेको कुरा आफूले महशुस गरेको भन्दै नेतृत्व विकासको सिप प्रयोग गर्नका लागि पार्टीमा आएको बताए। नेता शाहलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको सभापति लामिछानेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।