काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टाहरुलाई मुलुकको समृद्धिको अभियानमा सरिक हुुन आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले समृद्धिको वर्णन हुनेगरी मुलुकलाई अघि बढाउने महायात्रामा लेखक, चिन्तकलाई सरिक हुन आह्वान गरेका हुन्।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औं प्राज्ञ सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले प्राकृतिक सुन्दरता र स्रोतले भरिपूर्ण मुुलुकबाट गरिवी अन्त्य गर्न लेखक, चिन्तनलगायतका प्राज्ञहरुले साहित्य सृजना गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले मुलुकमा प्राप्त राजनीतिक प्रणाली ल्याउन प्राज्ञहरुले दिएको योगदानको पनि खुलेर प्रशंषा गरे।
प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले भाषा, कला र साहित्यले मुलुकलाई एकतावद्ध बनाउन महत्वपूर्ण योगदान दिने विश्वास पनि व्यक्त गरे।
प्रधानमन्त्री ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गरे।
‘सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र नाङ्गा बालबालिकाको वर्णन गरेर नेपाल कुरुप नै रहिरहने छ।’, उनले भने,‘हामीहरु अब समाजलाई सुन्दर बनाउने पक्षमा छौं। कोही नेपाली भोकै नरहोस् भन्ने सोचका साथ काम गरिरहेको छौं।’
प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको अवैज्ञानिक सिद्धान्तलाई फालेर जनताले छानेको लोकतान्त्रिक प्रणालीमार्फत समृद्धिको महायात्राको थालनी भएकाले नयाँ युगको यात्रामा समृद्धिको वर्णन गर्न स्रष्टाहरुलाई आग्रह गरे।
कवि हरिभक्त कटुवालको कविता ‘जूनलाई टाढैबाट हेर, नजिकबाट हेर्दा दाग देखिन्छ’ लाई आफ्नो हकमा उल्ट्याएर बुझ्न आग्रह गर्दै उनले भने, ‘मलाई नजिकबाट हेर्नुस्, दाग धब्बा देखिए आलोचना गर्नुस्। मबाट अख्तियारको दुरुपयोग हुँदैन। मलाई जनताले त्यसका लागि जिताएर पठाएका होइनन्। भ्रष्टाचारमा मेरो शून्य सहनशीलता हुन्छ।’
प्रधानमन्त्री ओलीले राष्ट्रलाई जगाउने र एकताबद्ध गर्ने सन्दर्भमा प्रज्ञा प्रतिष्ठानले निर्वाह गरेको भूमिका असाधारण रहेको बताउँदै यस्तो भूमिकाले परोक्षरुपमा मान्छेको मनोविज्ञान र मनोदशालाई रुपान्तरित गराउने धारणा राखे।
बैठकले गत आर्थिक वर्षको कार्यक्रम र गतिविधिको समीक्षा गर्दै चालू आवको बजेट र कार्यक्रम पारित गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।