काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले बजेट गठबन्धनमा छलफल नगरी एकलौटी रुपमा ल्याइएकाले सच्याउनुपर्ने धारणा राखेको छ। जसपाले पत्रकार सम्मेलन गर्दै यसमा मधेस लगायतको उपेक्षा भएको जनाएको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवले पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै भने, 'अहिलेको बजेट एकलौटी ढंगले गठबन्धनमा छलफल नगरी आएको छ। यसले मधेस लगायतलाई उपेक्षा गरिएको छ। सच्याउनुपर्छ भनिएको छ। यथास्थितिमा बजेट पास गरिँदैन भनेर संसदबाट पनि भनेका छौं। सच्चिएर मात्रै पास हुन्छ।'
उनले बजेटको न्यायोचित वितरण नभएको बताए। चालु योजनालाई समेत अवरोध हुने गरी बजेट आएकाले सच्चिएर मात्रै अघि बढ्ने उनको भनाइ छ।
'बाबुरामजी कहिल्यै देखिनुभएन'
समाजवादी मोर्चा निर्माणमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई कहिल्यै नदेखिएको बताए। एक/डेढ वर्षदेखि गृहकार्य गरेर घोषणा गरिएको बताउँदै त्यो बीचमा कहिल्यै छलफलमा नभेटेको उनको भनाइ थियो।
डा भट्टराईलाई किन छाडेको? भन्ने प्रश्नमा उनले कहिल्यै नसमातेको उत्तर दिए। उनले भने, 'बाबुरामजीलाई कहिल्यै देखिएन। उहाँको संलग्नता कहिल्यै थिएन। उहाँलाई न समातेको हो, न छाडेको हो।'
आउन चाहेमा बाटो भने राखिदिएको उनको भनाइ छ। मोर्चाले लिएको अवधारणामा सहमत हुनेका लागि बाटो खुला रहेको उनले बताए। यसअघि डा भट्टराईसँग यादवले पार्टी एकता गरेका थिए। तर आपसी मनमुटावका कारण लामो टिक्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।