काठमाडौं- नागरिकता ऐनसम्बन्धी विवादको मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी परेको छ। उनीहरुको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेसी रहेको छ।
यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएका कारण उक्त मुद्दाले प्राथमिकता पाउँदै आएको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेसहितले दायर गरेको रिटमा सुनुवाइ भएमा अन्तरिम आदेशको बारेमा निर्णय गर्नेछ। यदि सर्वोच्चले अन्तरिम जारी गरेमा नागरिकता ऐन कार्यान्वयनमा फैसला नभएसम्म रोक लाग्नेछ।
सर्वोच्चले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेमा भने ऐन कार्यान्वयनको बाटो खुल्नेछ। योसँगै नागरिकता वितरण सुरु गर्ने तयारी गृह मन्त्रालयको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो संघीय संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि विवाद सुरु भएको थियो। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको उक्त अध्यादेश पौडेलले कानुनी परामर्श गर्दै प्रमाणीकरण गरेका थिए। त्यसका लागि मन्त्रिपरिषदले सिफारिस गरेको थियो।
नयाँ संसद् आएपछि अघिल्लो सदनले गरेको भन्दै नागरिकता जस्तो गम्भीर विषयमा संसदलाई छल्न नपाइने भन्दै दुई वरिष्ठ अधिवक्ता भण्डारी र न्यौपानेले रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।