काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
हाल मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै देशका थोरै स्थानहरूमा मेघ-गर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बिहीबार राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।