काठमाडौं- उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेहरुविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेकोमा ९ जना पूर्वउपकुलपतिहरुले असन्तुष्टि जनाएका छन्। उनीहरुले सो निर्णय फिर्ता लिन भनेका छन्।
‘मुद्दा फिर्ता लिने सङ्घीय सरकारको निर्णय तुरुन्त फिर्ता लिइयोस् भन्ने हामी पूर्वउपकुलपतिहरू माग गर्दछौं र गत आषाढ ११ गते सोमबारदेखि आमरण अनशनमा रहनुभएका श्री प्रेम चलाउनेप्रति ऐक्यबद्धता जनाउँछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ।
बुधबार पूर्वउपकुलपतिहरू अर्जुन कार्की, कमलकृष्ण जोशी, त्रिरत्न मानन्धर, खगेन्द्र भट्टराई, तोरणबहादुर कार्की, नवीनप्रकाश जङ्ग शाह, महेशकुमार उपाध्याय, हिराबहादुर महर्जन र केदारभक्त माथेमाले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।
सरकारले मुद्दा फिर्ता लिने भनेर गरेको निर्णय निन्दनीय रहेको उनीहरुको भनाइ छ। विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक संस्थामा अनुशासनहीनता, अमर्यादित एवं आपराधिक कार्यहरूलाई प्रोत्साहन गर्ने मन्त्रिपरिषद्को उक्त निन्दनीय निर्णयबाट सरकार स्वयं अपराधको पक्षपाती भएको देखिन्छ।’
उपप्राध्याक चलाउनेले भने सरकारको निर्णयविरुद्ध अनसन सुरु गरेका छन्। उनले सर्वोच्चमा रिट पनि दिएका छन्। उक्त रिटको पेसी बिहीबार तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।