काठमाडौं– कांग्रेस सांसद अर्जुन नरसिंह केसीले नेपाल विद्यार्थी संघलाई दोष लगाउने कुरा सह्य नहुने चेतावनी दिएका छन्।
उपप्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघका नेताले २०७७ असोजमा गरेको संघातिक हमलाका दोषीलाई सरकारले माफी दिने भनेपछि सदनदेखि सडकसम्म नेविसंघको नाम जोडिएपछि केसीले आपत्ति जनाएका हुन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद केसीले उक्त चेतावनी दिएका हुन्।
‘नेपाली विद्यार्थी संघ नेपालको इतिहासको सबभन्दा पहिलो विद्यार्थी आन्दोलनकारी संस्था हो। त्यो संस्थालाई दोष लाउने खालको कुरा चाहिँ म स्वीकार गर्न सक्दिनँ,’ सांसद केसीले भने।
त्यसअघि सांसद केसीले नेविसंघ लोकतन्त्रका लागि लडेको संगठन भएकोले कुनै अमुक व्यक्तिले गरेको कामलाई लिएर संगठनलाई मुछ्नु नहुने बताएका छन्।
सांसद केसीले भने, ‘नेपाल विद्यार्थी संघ ऐतिहासिक संस्था हो। लोकतन्त्र, विद्यार्थी हित, समाजवाद र न्यायको निम्ति स्थापित संस्था हो। त्यहाँ भित्र को–कस्ता छन्, विधि विहीनता अथवा कुन व्यक्तिले के गरे त्यतातिर म प्रवेश गर्न चाहँदिन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।