जनकपुरधाम- तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले रोजगारी दिएको छ।
प्रदेश सरकारको पहिलो मन्त्री परिषद्को बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुरुप प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयमा उहाँलाई नियुक्ति दिइएको हो। आज एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले निलम देवी राउतलाई सो नियुक्तिपत्र हस्तान्तरण गर्नु भयो।
नियुक्ति पत्र हस्तान्तरण समारोहमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिइने बताए। ‘हामी आह्वान गरिसकेका छौ। जति शहीद परिवार सम्पर्कमा आउनु हुन्छ, सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौ' उनले भने।
यस अघि सोही कार्यालयमा अर्का शहीद राम विवेक यादवकी श्रीमती अनिला यादवलाई समेत रोजगारी दिइएको छ। मुख्य न्यायधिवक्ता कार्यालयले हालसम्म २ जना शहीद परिवारलाई रोजगारी उपलब्ध गराइएको हो। मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार उहाँहरुलाई रोजगारी दिइएको छ। निर्देशिका अनुरुप प्रदेश सरकारले घाइतेहरुलाई समेत क्रमशः सहायता उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।