उर्लाबारी, मोरङ- प्रतिनिधिसभाकी उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले ग्रामीण क्षेत्रका पत्रकारका समस्या समाधानका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने बताउएकी छिन्।
गृहनगर मोरङको उर्लाबारीमा सञ्चार क्लब नेपाल, उर्लाबारीले आयोजना गरेको छलफलमा ग्रामीण क्षेत्रको पत्रकारिताको अवस्था तथा समस्याका बारेमा जानकारी लिँदै उपसभामुखले पत्रकारको क्षमता अभिवृद्धिका लागि पनि आफूले प्रयास गर्ने आश्वासन दिएकी हुन्।
नेपाल पत्रकार महासङ्घ मोरङका पूर्वसहसचिव मोहन भट्टराई, अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराई, पत्रकार जगन्नाथ भट्टराई, केदार चौहान, भूपेन्द्र तिम्सिना, मिलन के राउत, घनश्याम भण्डारीलगायतले पूर्वी मोरङका पत्रकार तथा सञ्चारमाध्यमको अवस्थाका बारेमा उपसभामुखलाई अवगत गराएका थिए।
उनीहरुले पत्रपत्रिकाको वर्गीकरण, विज्ञापन, पत्रकारको क्षमता विकासका लागि तालीमलगायत विषयमा पनि उपसभामुख तुम्बाहाम्फेलाई जानकारी गराएका थिए। क्लबका अध्यक्ष सरोज बस्नेतले संस्थाको उर्लाबारीको भवन निर्माणका लागि आवश्यक पहल गरिदिन उपसभामुख तुम्बाहाम्फेलाई आग्रह गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।