काठमाडौं- संसदको अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमतिपत्र (लाइसेन्स) दिन सरकारलाई निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकले छलफलपछि मापदण्ड पुगेकाहरुलाई रोक्न नहुने भन्दै यस्तो निर्देशन दिएको हो।
अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमतिपत्र (लाइसेन्स) दिन धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेन्जलाई निर्देशन दिने निर्णय गरेको समितिका जेष्ठ सदस्य सन्तोष चालिसेले बताए। समितिले ब्रोकरको रोकिएको लाइसेन्स प्रक्रियालाई पनि निरन्तरता दिन निर्देशन दिएको छ।
जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया सुरु गर्न अर्थ मन्त्रालयमार्फ धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको उनले बताए। धितोपत्र दलाल तथा अनुमतिपत्र दिँदा मापदण्ड पुगेको विषयमा अनुमतिपत्र दिने निकायलाई सतर्कता पूर्वक कुनै प्रभावमा नपरी काम गर्न पनि निर्देशन दिएको छ।
समितिले यसअघि धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया रोक्न निर्देशन दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।