काठमाडौं- शहरी विकास मन्त्रालयको बजेट पुस्तकमा लुम्बिनी प्रदेशको नाम नै समावेश नभएपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक अपराह्न २:२५ मा सुरु भएको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा शहरी विकास मन्त्रालय लगायत ४ वटा मन्त्रालयको बजेटमाथिको छलफल गर्ने कार्यसूची थियो। तर
सभामुखले बैठक सुरु गर्दै अङ्कको सट्टामा तत्काल प्रदेशको नाम सच्याउन निर्देशन दिएपछि बैठक सुरु भएको हो।
‘सम्बन्धित मन्त्रालयहरुबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिकामा उल्लेखित केही विषयहरु, खासगरी प्रदेश सभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यसअघि निर्देशन भइसकेको छ। साथै, त्यस्ता कुनै त्रुटिहरु भएका भए तत्काल सच्याउन पुनः निर्देशन गर्दछु,’ सभामुख घिमिरेले निर्देशन दिए।
शहरी मन्त्रालयको बजेट पुस्तकको पेज २८–३० सम्म प्रदेशको नाम नभएको पाएपछि एमाले सांसद सूर्य थापाले नियमापत्ति जनाए। त्यसलगतै सभामुखले मन्त्री सिता गुरुङ्गलाई आफ्ना कुरा राख्न समय दिएका थिए। मन्त्रीले छलफललाई अघाडि गर्दैगरौं छुटेको नाम तत्कल थपेर ल्याइन्छ भनेर आग्रह गरेपनि एमाले सांसदहरुको लगातारको विरोध र नियमापत्ति भएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थिगित गरिदिएका थिए। स्थिगित बैठक २ घण्टा पछि मात्र सुरु भएको छ।
बिहान ११ बजे सुरु भएको बैठकमा शून्य समय सकिनेबित्तिकै बजेट माथी छलफल सुरु गर्ने कार्यसूची रहे पनि एमालेको विरोधका कारण स्थगित हुन पुगेको थियो।
यसअघि पर्यटन मन्त्रालयको बजेट पुस्तकमा प्रदेशहरुको नाम नभएको कारण छलफल नै भएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।