काठमाडौं- रास्वपा संसदीय सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेमाथि हमला गर्नेहरुको मुद्दा फिर्ता नलिन सरकारसँग आग्रह गरेका छन्। विश्वविद्यालय शान्ति क्षेत्र रहेकोले त्यसमा हुने गुण्डागर्दीलाई माफी नदिन परियारले आग्रह गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद परियारले उक्त आग्रह गरेका हुन्। ‘विश्वविद्यालय जस्तो क्षेत्रमा त्यस्तो गुण्डागर्दी शैलीमा मरणासन्न हुने गरी कुट्नेहरुलाई नछोडौं,’ सांसद परियारले भने, ‘गृहमन्त्रीलाई अनुरोध गर्छु, यो गलतलाई सच्याउनु होस्। न्याय दिनुहोस्।’
सांसद परियारले विश्वविद्यालयहरु शान्ति क्षेत्र रहेको र प्रहरीले पनि भित्र जान नपाउने क्षेत्रमा भएको संघातिक हमलाबाट पीडितलाई न्याय दिलाउन पनि आग्रह गरेका छन्।
‘हाम्रो शान्तिको मान्यतालाई गुण्डागर्दी शैलीमा दिनदहाडै त्यसरी कुटेर मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो?,’ सांसद परियारले भने,‘न्याय चाहिन्छ न्यायालय मर्न नदिउँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।