काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादी मोर्चालाई सत्ता स्वार्थका लागि बार्गेनिङ गर्ने हतियार बनाउने काम नहोस् भन्दै ‘सचेत’ गराएका छन्।
माओवादी केन्द्रसहित ४ पार्टीले सोमबार घोषणा गरेको मोर्चाबारे मंगलबार सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्दै भट्टराईले समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको बताएका छन्।
भट्टराईले सामाजिक सञ्जालको आफ्नो सन्देशमा मोर्चाका नेतृत्वकर्ता एवम् प्रधानमन्त्री पुष्पकमल दाहालप्रति पनि अप्रत्यक्ष रुपमा असन्तुष्टि व्यक्त गरेका छन्।
उनले सन्देशमा लेखेका छन्– ‘केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्।’ भट्टराईले यसअघि पनि प्रचण्डप्रति टिप्पणी गर्दा उनले ‘केहीलाई सधैं र धेरैलाई केहीबेर’ भ्रममा पार्न सक्ने वा ढाँट्ने सक्ने बताउने गरेका थिए।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्– ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो। कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्! केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्!’
यसअघि भट्टराई नेतृत्वको नेसपा पनि मोर्चामा सामेल हुने बताइएको थियो। भट्टराईकै आग्रहमा शुक्रबार (असार १ गते)लाई तय भएको मोर्चा घोषणाको कार्यक्रम सरेको थियो। भट्टराईले प्रचण्डलाई भेटेरै मोर्चा घोषणाबारे हतार गर्न नहुने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।