काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ। मंगलबार बिहान ११ बजे बस्ने बैठकमा विभिन्न ४ वटा मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुने छ।
मंगलबार संघीय शहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची छ।
मंगलबारको बैठकमा सांसदहरुले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्न कार्यसूची समेत छ।
प्रतिनिधि सभा बैठकमा जेठ ३२ गतेदेखि मन्त्रालयगत बजेट (विनियोजन शीर्षक)माथि छलफल सुरु भएको थियो। हालसम्म १० वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भइसकेको छ।
संघीय संसद् सचिवालयले असार ८ गतेसम्म मन्त्रालयगत बजेटमाथि छलफल सक्ने गरी कार्यसूची तय गरेको छ। त्यसपछि मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम सुरु हुने छ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि जेठ १५ बजेट सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।