काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता गरेर नेकपा गठन गर्नु हतारो भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।
पाँच वर्षअघि नेकपा घोषणा गरिएकै हलबाट समाजवादी मोर्चा घोषणा गरिएपछि सम्बोधन गर्दै उनले त्यतिबेला पार्टी एकता गर्ने हतारो गरिएको बताएका हुन्।
‘हामीले त्यतिबेला नै समाजवादी मोर्चा भनेर मोर्चाबाट काम सुरु गरेर छलफल गर्दै गरेर विचारमा, राजनीतिमा, संगठनमा, कार्यशैलीमा, संस्कारमा एकरुपता कायम गरेपछि एकतामा पुग्ने उद्देश्य राखेको भए सायद हामी सफल हुन्थ्यौं कि। यो एउटा गम्भीर प्रश्न छ। सबैले सोच्नुपर्ने प्रश्न छ’, उनले भने।
उनले नेकपा एकता भंग हुनुमा आफूले कसैलाई आरोपित नगर्ने बताए। सबैले ऐतिहासिक आत्मसमीक्षा गर्नुपर्ने बताए।
२०७५ जेठ ३ गते गठन भएको नेकपा २०७७ फागुन २३ गते सर्वोच्च अदालतको एक फैसलाले भंग भएको थियो। त्यतिबेला नेकपाभित्र विवाद उत्कर्षमा पुगेकाले नेताहरुले पुनः एकतामा उभिन भने सकेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।