काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मोर्चा बनाउन पापड बेल्नुपरेको बताएका छन्। कुनै पनि काम गर्न सजिलो नहुने बताउँदै यसमा पनि निकै गृहकार्य गरिएको उल्लेख गरे।
मोर्चा घोषणापछि सम्बोधन गर्दै उनले भने, ‘कुनै पनि काम गर्न सजिलो हुँदो रहेनछ। सजिलै गरी नेता बसेका होलान्, सहमति गरेका होलान्, तर त्यसो होइन। शब्द-शब्दमा छलफल गरेका छौं। विषयवस्तुमा गम्भीर बहस गरेका छौं। आजमात्रै सहमति पत्रको अन्तिम रुप दिएका छौं।’
केहीलाई मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्न बनाएको लागेको बताउँदै त्यस्तो नभएको स्पष्ट पारेका छन्। उनले थपे, ‘सवै सकारात्मक शक्ति एकताबद्ध गर्न बनेको हो। समाजवादी शक्तिको जनतामा रहेको प्रभाव विस्तार गर्न, सुशासन सुनिश्चित गर्न, राजनीतिमा रहेका विकृति र विसंगति अन्त्य गर्नका लागि एकताबद्ध भएर अघि बढ्न चाहन्छौं। कुनै पार्टीलाई घुर्क्याउन होइन। तर्साउन चाहेका होइन।’
अग्रगमन र प्रगतिको पक्षमा नभएकाहरु तर्सिएको उनले बताएका छन्। मोर्चा पहिलोपटक नबनेको तर नयाँपन रहेको उनको भनाइ छ। नेता नेपालले २०४६ सालमा बहुदल ल्याउन वाम मोर्चाका साथै अन्य शक्ति मिलेर बनाएको स्मरण पनि गरे। यसैगरी संघीय गणतन्त्र ल्याउन ७ दलीय मोर्चा बनाइएको उनले बताए।
सरकारमा भएका र नभएका दुवै मिलेर बनेको बताउँदै नेपालले त्यही यसको विशेषता रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।