काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधानमा सबैको अपनत्व नरहेको बताउँदै कमजोरी सच्याउन समाजवादी मोर्चा घोषणा गरिएको बताएका छन्।
विगतमा भएका जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनको परिणामले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुन पुगे पनि संविधानमा कमजोरी रहेकाले सच्याउनुपर्ने उनले दोहोर्याएका हुन्।
उनले भने, ‘वर्तमान संविधानको ओनरसिप लिन नसक्ने अवस्था नरहेकाले भएकाले कमी कमजोरी विकृति र विसंगतिलाई संशोधन र परिमार्जबाट सच्याउँदै र बाँकी उपलब्धि संस्थागत गर्दै अघि बढ्ने ध्येय रहेको छ।’
प्रणाली बदलिए पनि शासनशैली र मानसिकतामा पुरानै अवशेष बाँकी रहेको बताएका छन्। उपेक्षित, शोसित र पीडित जनताले परिवर्तन अनुभूत गर्न नपाएको उनको भनाइ छ।
‘प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने। संघीयता, धर्म निरपेक्षता, मौलिक हक जस्ता कुरा प्राप्त गरेका छौं। प्रतिगमनकारी शक्तिबाट धरापमा पार्ने र समाप्त पार्ने प्रयास भइरहेको छ। प्रयास असफल पार्दै धेरै राजनीतिक उपलब्धि हासिल गर्न बाँकी रहेका छन्। ती उपलब्धि हासिल गर्न जनसंघर्ष, संसद् र सरकारबाट हासिल गर्न सहमत भएका छौं,’ उनले भने।
अहिले आफ्नै नागरिकलाई नागरिकताबाट वञ्चित गराउने देश नेपाल बनेको उनले बताए। ‘आफ्नै नागरिकका सन्तानलाई नागरिकता दिँदा कसैको टाउको दुखाई हुनु नपर्ने हो। तर पुरानो मानसिकताका कारण समस्या छ। आफ्नै नागरिकका सन्तानलाई नदिने कार्य विरोध जनस्तरबाटै गर्नुपर्ने दिन आउन सक्छ,’ उनले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।