काठमाडौं- नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेकपाले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन्।काठमाडौंस्थित राष्ट्रिय सभामा एक कार्यक्रम गर्दै उनीहरुले घोषणाका साथै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गरेका हुन्। समाजवादी मोर्चा, नेपाल ५४ सांसदसहित संसद्मा तेस्रो ठूलो शक्ति बनेको छ।
संसद्मा तेस्रो शक्ति भए पनि सिंहदरबार अर्थात् सरकारमा भने पहिलो शक्ति बनेको छ। २५ सदस्यीय मन्त्रीमण्डलमा मोर्चाबाट १० मन्त्री र ३ राज्यमन्त्री रहेका छन्।
प्रधानमन्त्री प्रचण्डका साथै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषिमन्त्री बेदुराम भुसाल, शिक्षा मन्त्री अशोक राई, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा, पर्यटन मन्त्री सुदन किराँती, संघीय मामिलामन्त्री अमनलाल मोदी, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो यो मोर्चाबाट रहेका छन्।
यसैगरी राज्यमन्त्रीहरु सुशीला श्रीपाइली, प्रमिला कुमारी र नन्दा चपाईं पनि यही मोर्चाको सदस्य पार्टीका नेताहरु हुन्। संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट जम्मा ९ जना मन्त्री रहेका छन्।
नागरिक उन्मुक्ति एक, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीका एक-एक जना मन्त्री रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।