काठमाडौं– नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर नेपाल बार एशोसियसनका पदाधिकारीहरुले आफ्नै नेतृत्वमा निर्माण भएको विचौलिया नियन्त्रणसम्बन्धी प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ भन्दै प्रश्न गरेका छन्।
गत शुक्रबार संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुँदै सर्वोच्चको ३० औं नेतृत्व सम्हालेका कार्कीलाई भेट्न पुगेका नेपाल बारका पदाधिकारीले विकृतिविहीन न्यायालयसम्बन्धी प्रतिवेदन कार्यान्वयनको प्रश्न उठाएका हुन्।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गएको टोलीले प्रधानन्यायाधीश कार्कीलाई कार्यकाल छोटो भएकाले आफूलाई सधैं स्मरण राख्ने गरी काम गर्न पनि सुझाव दिएको अध्यक्ष घिमिरले बताए।
‘हामीले अहिलेका सवै समस्याहरु प्रधानन्यायाधीशलाई राखेका छौं। तत्काल गर्नुपर्ने र दीर्घकालीन कामको कुराहरु पनि हामीले लिखित रुपमा बुझाएका छौं,’ घिमिरेले भने, ‘गोलालाई पुन: फर्काउने कोसिस भइरहेकोदेखि न्यायाधीश नियुक्तिसम्मका कुरा राखेका छौं।’
भेटमा बारले तत्काल फुलकोर्ट बैठक राखेर विकृतिविहीन न्यायलयसम्बन्धी प्रतिवेदन पारित गराउन पनि आग्रह गरेको उनले बताए। त्यस्तै बार बेञ्चको समन्वय समितिको बैठक राख्न र अहिलेको समस्या र अदालतमा लामो समयदेखि मुद्दाहरु थन्किने समस्याहरुको समाधन खोज्न पनि आग्रह गरेको उनले बताए।
‘तपाईंकै नेतृत्वमा विकृतिविहीन न्यायालयसम्बन्धी प्रतिवेदन बारको पनि सहभागितामा निर्माण भएको थियो। यो अब कार्यान्वयन हुनुपर्ने बारको एकमात्र अजेण्डा रहेको कुरा हामीले भनेका छौं,’ उनले भने, ‘त्यस्तै अटोमेशनमा पेसी तोक्ने कुरा तत्काल सुरु गर्नुपर्ने बारको धाराणा रहेको कुरा सुनाएका छौं।’
अहिले गोलालाई व्याक गर्ने कोसिस भएको सुनिएको भन्दै यदि यस्तो निर्णय भएमा बार आन्दोलनमा उत्रन तयार रहेको कुरा प्रधानन्यायाधीश कार्कीलाई जानकारी गराएको उनले बताए।
सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीश नियुक्ति थाल्न पनि बारले आग्रह गरेको छ। सर्वोच्च अदालतमा ६ जना र उच्च अदालतमा मुख्य न्यायाधीशदेखि न्यायाधीशसम्म खाली रहेको र जिल्लामा पनि न्यायाधीश रिक्त रहेकाले यसमा पारदर्शी र विवादरहित नियुक्ति थाल्न बारले आग्रह गरेको उनले बताए।
बारको कुरा सुनेपछि प्रधानन्यायाधीश कार्कीले अटोमेशनतिर जाने तयारी भइरहेको र केही समयपछि जानैपर्ने बताएका थिए। विकृतिविहीन न्यायालय र अदालतमा हुने भ्रष्टाचारदेखि विचौलिया नियन्त्रणसम्मका कुरामा आफू सधैं तयार रहेको उनले बताएका थिए।
भेटमा कार्कीले आफूले संसदीय सुनुवाइ समितिमा अधिकांश कुरा राखेको र त्यसको कार्यान्वयनको सुरुवात गर्ने बताए। उनले आफ्नो कार्यकाल लामो भएको वा नभएको भन्दा पनि न्यायालयमा गर्नैपर्ने सुधारको थालनी गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।