काठमाडौं– सोमबार भएको प्रतिनिधि सभा बैठकमा बोल्दै जनमत पाटीका नेता सांसद अब्दुल खानले अहिलेको सरकारले ल्याएको बजेटले सबैलाई चक्रब्यूहमा पारेको बताए।
‘अहिलेको यो बजेटले हामी सबैलाई चक्रब्यूहमा पारेको छ। किन पारेको छ भने ४ जनाको क्षेत्रमा ५० प्रतिशतभन्दा बढी लगभग ५१ प्रतिशत बजेट छुट्याइन्छ भने अन्य सांसदको के काम। किनभने जनताको अपेक्षा सबैसँग छ। जनताले यी चारजनासँगमात्र अपेक्षा गरेका छैनन्,’ उनले भने।
आगामी आर्थिक वर्षका लागि छुट्याएको साढे १७ खर्ब रुपैयाँको बजेटमध्येबाट १२ खर्ब रुपैयाँभन्दा बढी चालु खर्च छुट्याएको छ भने करिब २ खर्ब रुपैयाँ ऋण चुक्ता गर्ने नाममा छुट्याइएको छ।
यस्तै ३ खर्ब रुपैयाँ विकास बजेट अर्थात् पुँजीगत बजेटमा भनेर छुट्याइएको छ। उक्त विकास बजेटमा छुट्याएको रकममध्ये प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, अर्थमन्त्री र भौतिकमन्त्री गरी चार जनाको क्षेत्रमा मात्रै ५१ प्रतिशत बजेट छुट्याइएको बताए।
खानका अनुसार गतवर्ष प्रधानमन्त्रीको क्षेत्रमा १५ करोडको बजेट गएको थियो भने यो वर्ष ५४ करोडको बजेट छुट्याइएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्रमा गत वर्ष १७ करोडको बजेट गएको थियो भने यो वर्षमा एक अर्ब १० करोडको बजेट छुट्याइएको छ।
अर्थ मन्त्रीको क्षेत्रमा गतवर्ष ७ करोडको बजेट गएको थियो भने यो वर्ष ६६ करोडको छुट्याइएको छ। यस्तै भौतिक मन्त्रीको क्षेत्रमा गत वर्षमा २ करोडको बजेट गएको थियो भने यसवर्ष ३० करोडको बजेट गएको छ।
‘लगभग ५१ प्रतिशत विकास बजेट ४ जना मन्त्रीको क्षेत्रमा जान्छ र ४९ प्रतिशत बजेट बाँकी सांसदको क्षेत्रमा जान्छ भने त्यो नत निती र कार्यक्रम हुन्छ न सिद्धान्त हुन्छ न प्राथमिकता नत बजेट नै,’ उनले भने, ‘जसरी महाभारतमा अभिमन्यूलाई चक्रब्यूहमा फसाएको थियो त्यसरी नै हामी सबै माननीयलाई ४ जनाले फसाएको देखिन्छ। यो कुरा सबैले बुझ्न जरुरी छ। नीतिक कार्यक्रम सिद्धान्त र प्राथमिकताको कुरा सुधार गर्नुपर्ने थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।