काठमाडौं– ‘स्टारडम साँच्चै घातक हुन्छ। तलवितल पर्यो भने यसले कलाकारलाई मनोवैज्ञानिक रुपमा समेत कमजोर बनाउँछ’, केही वर्ष पहिला एक म्यागेजिनसँगको अन्तर्वार्तामा भारतीय अभिनेता नसिरुद्दिन शाहले भनेका थिए, ‘लगातार निरासासँग साक्षात्कार गर्दा कलाकार आफूँसँगै पनि एक्लिदै गएको महसुस गर्न सक्छ। त्यसको असर व्यक्तिगत जीवन या सम्बन्धहरुमा पनि पर्न सक्छ। यस्ता मित्रहरु मैले देखेको छु।’
अभिनेता शाहका आँखाले त बलिउड नियाल्यो। देख्यो, त्यहाँको चमकधमक र फ्लप हुनुको मनोदशा। कतिपय अवस्थामा उनी स्वयम् पनि यो अनुभवका साक्षी बने। यता नेपाली फिल्मी नगरीमा पनि कलाकर्मीको सन्दर्भ र मनोदशा उही हो।
कलिउड यतिबेला अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम–गसिपमा घुमिरहेको छ। हातका औंला बराबर पनि फिल्म नखेलेकी कान्छो छिमलकी सबैभन्दा चर्चित हिरोइन शाह आफ्नो लामो प्रेममा आएको ‘यू टर्न’बारे मौन छिन्। केही फिल्मी सञ्चारकर्मीले उनीसँग जिज्ञासा नराखेका होइनन्, ‘भयो के र, प्रेममा पूर्णविराम लाग्यो?’ उनले एक युवा उद्यमी मयंक खड्कासितको लामो प्रेम यात्रा टुङ्गिएको संकेत त गरेकी छिन्, तर आफ्ना नयाँ प्रेमीबारे मुखै खोलेकी भने छैनन्। यद्यपी, सिने मिडियाहरुले ‘उनका नयाँ प्रेमी देवांश जंगबहादुर राणा हुन्’ भनेका छन्।
युरोपबाट व्यवस्थापन विषयमा ग्राजुएट देवांश उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन्। उनीहरू तीन महिनादेखि प्रेम सम्बन्धमा रहेको भनिएको छ। तर, खासमा साम्राज्ञीको यसअघिको प्रेम के कारणले सकियो भन्ने चित्तबुझ्दो जवाफ भने कतै मिल्दैन।
उनका पूर्वप्रेमी मयंक खड्काले साम्राज्ञी ‘इन्टु मिन्टु लण्डनमा’ नामक फिल्मको छायाँकनमा बेलायतमा रहँदा एउटा फेसबुक स्टाटस लेखेपछि फिल्म पत्रकारहरुले उनीहरुबीच खटपट भएको लख काटे। मयंकले लेखेका थिए, ‘मैले शंका गरेँ रे, कति हास्नु?’
साम्राज्ञीले अभिनय गरेको ‘इन्टु मिन्टु लन्डनमा’ फिल्मकी निर्देशक रेनशा बान्तवा राईको जन्मदिनका बेला देवांश पनि उपस्थित भएको र उनीहरुका उत्सवमय तस्बिरहरु सार्वजनिक भएपछि राजखलककी यी हिरोइनको नयाँ प्रेमावतारबारे गसिप सुरु भएको हो।
साम्राज्ञी र उनका पूर्वप्रेमी मयंक नजिकका साथीहरुका अनुसार उनीहरुबीच अलिक अगाडिदेखिनै खटपट चलिरहेको थियो। ‘साम्राज्ञी अलिक महत्वकांक्षी र खुला हृदयकी अभिनेत्री हुन्। पछिल्ला दिनमा उनका फिल्मले अपेक्षाकृत सफलता हासिल नगरेपछि उनमा चन्चलता बढेको थियो’, भूवन केसीका छोरा अनमोल केसीसँग फिल्म ड्रिम्सबाट डेब्यू गरेकी साम्राज्ञीकी एक मित्र भन्छिन्, ‘ ड्रिम्सबाट उनी चर्चित भइन् तर त्यसपछिका फिल्महरु चलेनन्।’
उनका अन्यय मित्रहरु उनमा बढ्दै गएको बेचैनी र अपेक्षाको प्रभाव मयंकसँगको सम्बन्धमा परेको बताउँछन्। मयंकले पनि साम्राज्ञीको फिल्म करिअर र मनोदशालाई अनुभूत गर्न नसकेको बताइन्छ। ‘मयंक एकोहोरो प्रकृतिका युवा हुन्’, उनका अर्का उद्यमी साथीका शब्दमा भन्ने हो भने,‘साम्राज्ञीको अवस्थालाई बुझ्न नसकेपछि मयंकसँग उनी विस्तारै टाढिँदै गइन्। स-साना कुराहरुमा मतभेदहरु बढ्दै गए।’
प्रति फिल्म ५ लाख रुपैयाँसम्म लिने यी नायिकाले ड्रिम्सपछि ए मेरो हजुर–२, तिमीसँग र कायरा नामका फिल्महरुमा अभिनय गरेकी छिन्। ए मेरो हजुर–२ को प्रचारबाजी राम्रो भए पनि यसले बक्सअफिस भने पिट्न सकेको थिएन। त्यसैगरी तिमीसँग त सुपर फ्लप नै भयो। र, कायरामा आर्यनसँग पर्दामा देखिएकी साम्राज्ञीको फिल्मी चाल अझै ओरालोमा देखियो।
‘इन्टु मिन्टु लण्डनमासम्म आइपुग्दा उनले आफ्ना कतिपय मनोवैज्ञानिक दबावलाई व्यवहारमा रुपान्तरण गरेकी मात्र हुन्’, ती साथीले भनिन्, ‘पछिल्लो फिल्म पनि अपेक्षा गरेजस्तो भएन भने साम्राज्ञीलाई अझै गाह्रो पर्नेछ।’ उनको सम्बन्धको सन्दर्भ कतै यताकी अभिनेत्री शाहका लागि उताका नसिररुद्दिन शाहले भनेजस्तै त हैन?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।