काठमाडौं– मनसुन भित्रिएसँगै सुरु भएको अविरल वर्षाका काराण आएको बाढी–पहिरोले पूर्वी पहाडी जिल्ला ताप्लेजुङ्ग यातायातको सम्पर्कबाट विच्छेद भएको छ।
मेची राजमार्गअन्तर्गत पाँचथरमा पर्ने हेवा खोलामाथिको पुल बाढीले बगाएको छ। यस्तै, तमोर करिडोरमा रहेको बेलीब्रिज पनि भत्काइदिएपछि ताप्लेजुङ जिल्लाको बाँकी जिल्लासँगको यातायात सम्पर्क टुटेको हो।
पुल र बेलीब्रिज भत्किएपछि सो स्थानमा तत्काल पुन:निर्माणको कार्य प्रारम्भ गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन्। ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले प्रतिनिधि सभाको आइतबारको बैठकमा भत्किएका भौतिक पूर्वाधारको अवस्थाबारे सदनमा जानकारी दिन माग गरेपछि मन्त्री ज्वालाले उक्त कुरा बताएका हुन्।
‘मेची राजमार्गमा पर्ने हेवा खोलाको पुल भत्किएपछि र तमोर करिडोरको बेलीब्रिज पनि बगाएपछि ताप्लेजुङ जिल्ला पूर्णरुपमा यातायातको सम्पर्कबाट विच्छेद भएको छ। मेची राजमार्गमा अवरुद्द भएको सडक खुलाउन सडक विभागको तर्फबाट काम सुरु भइसकेको छ,’ मन्त्री ज्वालाले भने, ‘हेवा खोलामा भत्किएको पुलको ठाउँमा आजैदेखि बेलीब्रिज बनाउन सुरु गरिसकेका छौं। १० दिन भित्रमा त्यो ठाउँमा बेलीब्रिज जोड्ने काम सम्पन्न गरी कामलाई अगाडि बढाइ रहेका छौं।’
यस्तै, मन्त्री ज्वालाले सम्भव भएसम्म बेलीब्रीज निर्माण नहुँदासम्म सतहबाट डाइभर्सन बनाएर यातायात खुलाउने कुरा अगाडि बढाउने तयारी रहेको बताएका छन्।
ताप्लेजुङ, पाँचथर, तेह्रथुम र संखुवासभामा आएको बाढी पहिरोले क्षतीग्रस्त भएको सडक तथा पुलहरुको निवर्माण कार्यलाई तिव्रता दिइने मन्त्री ज्वालाले बताएका छन्।
मन्त्री ज्वालाका अनुसार अवरुद्ध सडकहरु खुलाउनका लागि डिभिजन कार्यालय इलाम, यान्त्रिक कार्यालय फिदिम, तमोर करिडोर कार्यालय, मध्यपहाडी सडक कार्यालयलाई निर्देशन दिइसकेको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।