ठाकुर गैरे (फाइल तस्बिर)
काठमाडौं– नेकपा एमालेका सांसद ठाकुर गैरेले हिन्दी सिनेमा आदिपुरुषको संवाद र त्यसका लेखकको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा उनले भने, ‘नेपालमा जन्मिएका गौतम बुद्धलाई भारतमा जन्मिएका हुन् भन्ने अत्यन्त भ्रमपूर्ण समाचार प्रवाह गर्ने भारत अहिले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्सांकन गरेर अत्यन्त गलत काम गरेको छ। अहिले फेरि यो आदिपुरुष सिनेमाको नाममा सीता भारतको छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण सन्देश प्रवाह गर्ने मात्र होइन, त्यसका लेखकले नेपाल भारतकै अंग हो भनेर अन्तर्वार्तामार्फत् अन्यन्त गलत अभिव्यक्ति दिइरहेका छन्।’
गैरेले नेपाल सरकार के गर्दैछ? भन्ने प्रश्न पनि गरे। उनले थपे, ‘के भारत सुगौली सन्धिबाट पछाडि हटेको हो? नेपाल सरकार स्पष्ट हुन जरुरी छ।’
गैरेले नेपाललाई ग्रेटर नेपालको बहसतर्फ धकेल्न खोजेको हो भने नेपाल देशको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए। ‘हामी नेपालको एक इन्च भूमि कसैका लागि सुम्पिन तयार छैनौँ। नेपालको रक्षाका लागि हामी तयार हुनुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।