काठमाडौं– समाजवादी मोर्चा घोषणाको तयारीमा रहेका दलका नेताहरु छलफलमा जुटेका छन्। सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका पार्टीका नेताहरु छलफलमा जुटेका हुन्।
अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी रहेको बताइएको छ। छलफलमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा नेता नेत्रविक्रम चन्द विप्लव सहभागी रहेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ९:३० वजेदेखि सुरु भएको छलफल १ घण्टाभन्दा बढी समय भइसक्दा पनि जारी छ।
सत्तामा रहेका र सत्ता बाहिरका केही दल मिलेर समाजवादी मोर्चा घोषणा गर्ने तयारी छ। यसअघि शुक्रबार नै मोर्चा घोषणा गर्ने तयारी रहे पनि पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको अनुरोधपछि सारिएको थियो। भट्टराईले हतारमा निर्णय गर्नेभन्दा अझै छलफलका लागि समय चाहिने भनेपछि मोर्चा घोषणाको कार्यक्रम रोकिएको थियो।
दलहरु एक आपसमा तत्काल गाभिन वा पार्टी एकीकरण गर्न सम्भव नभएपछि मोर्चाबन्दीको प्रयास भएको हो। सत्ता गठबन्धनभित्र रहेका यी सवै दलहरु मिलेर आगामी २०८४ सालको निर्वाचनमा जाने तयारी पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।