काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ। आइतबार बिहान ११ बजे बस्ने बैठकमा विभिन्न ३ वटा मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुने छ।
आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची छ।
आइतबारको बैठकमा सांसदहरुले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्न कार्यसूची समेत छ।
प्रतिनिधि सभा बैठकमा जेठ ३२ गतेदेखि मन्त्रालयगत बजेट (विनियोजन शीर्षक)माथि छलफल सुरु भएको थियो। जेठ ३२ गते (बिहीबार) वन तथा वातावरण र महिला बालबालिका तथा ज्येष्ठ नागरिक गरी २ मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भएको थियो।
यस्तै, असार १ गते (शुक्रबार) उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वा तथा यातायात मन्त्रालय गरी ३ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भएको थियो।
संघीय संसद् सचिवालयले असार ८ गतेसम्म मन्त्रालयगत बजेटमाथि छलफल सक्ने गरी कार्यसूची तय गरेको छ। त्यसपछि मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम सुरु हुने छ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि जेठ १५ बजेट सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।