काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी तथा पहिरोका कारण देशका विभिन्न ठाउँमा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले बेपत्ताहरुको खोजी, उद्धार एवम् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा एक सन्देश साझा गर्दै भनेका छन्, ‘देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। साथै, बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपिल गर्दछु।’
मनसुनी वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढी र पहिरोमा परी १० जना बेपत्ता भएका छन्। बाढीले बगाएर पाँचथरमा ६ बेपत्ता भएका छन्। यस्तै, ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ सहित ४ जना बेपत्ता भएका छन्।
बाढी र पहिरोका कारण ठूलो मात्रामा भौतिक संरचनामा समेत क्षति पुगेको छ। बाढीले पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोला माथिको पुल बगाउँदा कोशी राजमार्ग अवरुद्ध भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।