काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना घट्ने देखिए पनि गर्मी हुने सम्भावना यथावत् छ।
आज (आइतबार) दिउँसो कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आइतबार राति कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, देशका बाँकी पहाडी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।