काठमाडौं- माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतले घोषणा गर्ने भनेको समाजवादी मोर्चाप्रति एमालेका अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष गरेका छन्।
शनिबार पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै ओलीले गठबन्धनले मात्रै नपुगेर एमालेसँग मुकाबिला गर्नलाई समाजवादी मोर्चा बनाउन लागिएको बताए।
‘समाजवादी मोर्चाका दुइटा उद्देश्य छन्। एउटा, एमालेसँग मुकाबिला गर्ने। अर्को, कांग्रेसलाई तर्साउने’, ओलीको भनाइ छ, ‘समाजवादी मोर्चा बनाएर हुन्छ के? किन बनाउने त्यो? तिनै चिनेका मान्छे हुन्। सँगै हिँडिरहेका छन्। मोर्चा भने पनि, नभने पनि, 'लिभिङ टुगेदर' त चलेकै छ त तिनीहरुको। अनि के मोर्चा, के नमोर्चा?’
ओलीले चारतिर फर्किएका र फरक–फरक उद्देश्य बोकेका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति नबन्ने ठोकुवा गरे। उनले भने, ‘त्यो एकछिनका लागि हुनसक्छ। एमालेलाई सरकारबाट हटाउने, सरकारबाट बाहिर राख्ने एकछिनलाई हुनसक्छ। २०८४ सम्म हुनसक्छ।’
उनले आफूहरुले भने अब 'मिसन २०८४' को तयारी गर्नुपर्ने बताए। कसैले पराजित गर्न नसक्ने राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने बताए।
ओलीले अरुले बनाउने मोर्चा-सोर्चालाई खास वास्ता गरिराख्नुपर्ने आवश्यकता नभएको बताए। ‘हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौं। जो देशप्रति समर्पित छ, इमानदारिताका साथ। जनताप्रति, विकासप्रति, शान्तिप्रति, सुशासनप्रति, र यस देशका जनताले चौतर्फी विकास गरेर सुरक्षा पनि पाउन्, न्याय पनि पाउन्, सम्मान पनि पाउन् र सुखी जीवन बिताउन पाउन्। त्यसका निम्ति काम गर्ने राष्ट्रिय शक्ति निर्माण गर्न खोजिरहेका छौं’, उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।