काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरपालिका भित्रका कुनै पनि सामुदायिक विद्यालय बन्द नगर्न निर्देशन दिएका छन्।
एक सूचना जारी गर्दै मेयर शाहले असार ३ गतेदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै महानगरभित्रका कुनै पनि विद्यालय बन्द नगर्न निर्देशन दिएका हुन्।
शुक्रबार नेपाल विद्यालय कर्मचारी परिषद्ले एक विज्ञप्ति जारी गर्दै असार ३ गतेदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्द गर्ने जनाएको थियो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूहरुका माग सम्बोधन गर्ने भनिए पनि बजेटमा नसमेटिएको भन्दै परिषद्ले विद्यालय बन्दको घोषणा गरेको हो। उक्त सूचनापछि महानगरले विज्ञप्ति जारी गर्दै कारबाही गर्ने चेतावनी दिएको हो।
उनले महानगरको निर्देशन अवज्ञा गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन्। शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको मिति २०६८।२।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ।’
साथै उनले महानगरभित्रका विद्यालयहरुमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने कुनै पनि संस्था वा कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उनले बन्दको बहानामा कुनै पनि शिक्षक वा कर्मचारी उपस्थित नभएमा पदबाट हटाउनेसमेत चेतावनी दिएका छन्।
यस्तो छ मेयर शाहको चेतावनी
१) शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ।
२) विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ।
३) कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ।
४) काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।