काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीप्रति कटाक्ष गरेका छन्। उनले अकुत सम्पत्ति कमाउने भूत सवार भएपछि राजनीतिको इज्जत र गौरव सबै समाप्त हुने टिप्पणी गरेका छन्।
‘टोपबहादुर रायमाझीका बाउछोरा दुवै कालकोठरीमा!’ शीर्षक दिएर न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा पाँच बुँदा लेखेका छन्-
१. पैसा खाएर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गम्भीर अपराध कसरी गर्न सकेको?
२. राजनीतिक क्षेत्रमा लागेको व्यक्तिले अकुत सम्पत्ति कमाउँदा घरपरिवारबाट प्रश्न उठाउनुको सट्टा रवाफ देखाउने प्रवृत्तिको यो स्तरको घटनापछि उनका घरपरिवार, नातागोता, आफन्त, छिमेकी र समाजले कस्तो अनुभूति गर्यो/गर्छ होला?
३.यस्ता विषयमा प्रवेश गर्दा कम्तीमा बाउले छोरालाई वा छोराले बाउलाई यस्तो कुकर्म कहिल्यै गर्नु हुँदैन भनेर सतर्क गराउने चेतना पैसाको अगाडि मर्दो रहेछ है?
४.अकुत सम्पत्ति कमाउने भूत सवार भएपछि राजनीतिको इज्जत र गौरव कहाँ रहन्छ?
५.आफ्नो अभिभावकले पाएको राजनीतिक अख्तियारी (सार्वजनिक जिम्मेवारी) को चरम दुरुपयोग गरेर राजकुमार/राजकुमारी बनेका राजनीतिभित्र कैयौं छन्, तिनीहरूले आजका दिनबाट शिक्षा लिउन्!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।