काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा केही दिनदेखि जारी बहस सकिएर न्याायधीश प्रेमप्रसाद न्यौपानेले थुनछेक आदेश लेख्न थालेपछि जिल्ला अदालत काठमाडौंमा सुरक्षा बढाइएको छ।
जिल्ला अदालतले उक्त प्रकरणमा पक्राउ परेकाहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि तारेखमा छाड्ने भन्नेबारे निर्णय केहीबेरमा सुनाउनेछ।
शुक्रबार सरकारी वकिलको जवाफी बहस सकिएको थियो। पक्राउ परेका १८ जना प्रतिवादी पक्षका कानुन व्यवसायीले गरेको बहस गरेपछि सरकारी वकिलले जवाफी बहस शुक्रबार गरेका थिए। दुवै पक्षको बहस सकिएर न्यायाधीशले आदेश हुने भनेपछि जिल्ला अदालत काठमाडौं वरपर सुरक्षा व्यवस्था कडा पारिएको हो।
उक्त प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने निर्णय हुँदैछ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको अभियोगमा पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता खाण, नेकपा एमाले नेता र रायमाझी र बहालवाला सचिव टेकनारायाण पाण्डेसहित १८ जना पक्राउ परेका थिए। उनीहरुमाथि संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोपसहित पाँच अभियोग दाबी गरिएको छ।
२७ करोड ५० लाख रुपैयाँ बिगो र कैदको माग अभियोगपत्रमा गरिएको छ। जिल्ला अदालत काठमाडौंमा गत जेठ १० गते ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।