काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले राजनीतिक नेतृत्व र पार्टीहरुमाथि समाज आलोचक बन्दै गएको र प्रश्नहरु उठेको बताएका छन्।
चीनमा चार महिना लामो उपचारबाट स्वदेश फर्किएपछि शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पार्टी नेता/कार्यकर्ता र शुभचिन्तकहरुसँग कुरा गर्दै उनले दल र नेताहरुले आलोचनालाई नकारात्मक रुपमा लिन नहुने उल्लेख गरे।
लोकतन्त्रमा जनताको प्रश्नभन्दा बाहिर हुन कोही पनि नसक्ने भन्दै उनले आफूमाथिका प्रश्नहरुको राजनीतिक दल र नेताहरुले व्यवहारबाटै जवाफ दिन सक्नुपर्ने तर्क गरे। राजनीतिक दल र नेताहरु नयाँ अग्निपरीक्षामा रहेको भन्दै पुनले जनताका एक/एक प्रश्न र आशंकाहरुको जवाफ सबैले दिनुपर्नेमा जोड दिए।
‘नेपाली समाज आलोचक बन्दै गएको छ। राजनीतिमाथि, नेताहरुमाथि र राजनीतिक दलहरुमाथि प्रश्न उठेको छ। प्रश्न उठ्नु नराम्रो होइन’, पुनले भने, ‘तर प्रश्नहरुको सकारात्मक जवाफ दिनु राजनीतिक दल र नेताहरुको कर्तव्य हो। राजनीतिक व्यवस्थाको कर्तव्य हो। व्यवहारबाटै त्यसको जवाफ दिइनुपर्छ, राजनीतिक व्यवस्था, दल र नेताहरुको औचित्यता साबित गर्न सक्नुपर्छ यो हाम्रो दायित्व हो ।’
व्यवस्था बदलेका राजनीतिक दल र नेतृत्वसँग जनताले अवस्था बदलियोस् भन्ने अपेक्षा राख्नु सर्वथा गलत नहुने तर्क उनको थियो। सबै राजनीतिक दल र नेताहरुको ध्यान मुलुकको अवस्था बदल्न आर्थिक तीव्र वृद्धिमा हुनुपर्ने पनि उनले औंल्याए।
पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका क्षेत्रमा नयाँ र राम्रका कामको थालनी गरेको भन्दै प्रशंसा गरे। राम्रा कामहरुका कारण सरकारप्रति जनसमर्थन रहेको दाबी पनि उनले गरे। वर्तमान सरकारले शासन प्रशासनमा जनताको अपेक्षाअनुसार काम गर्ने र सुशासन कायम गर्ने कुरामा सम्झौता नगर्ने बताए।
नेता पुनले आफू नियमित रुपमा राजनीतिक काममा सक्रिय हुने जानकारी दिए। ‘म तत्काल नियमित रुपमा पार्टी काम र जनताको सेवामा सक्रिय हुनेछु। जनतासँग सम्बन्धित, देश, राष्ट्रिय स्वाधिनतासँग सम्बन्धित एजेण्डामा केन्द्रित रहेर काममा लाग्नेछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।