वर्षमान पुन (फाइल तस्बिर)
काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ चीनमा ४ महिना लामो उपचारपछि स्वदेश फर्किएका छन्। पुन शुक्रबार काठमाडौं आइपुगेका हुन्।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पुनलाई विमानस्थल पुगेर स्वागत गरेका छन्।
विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै पुनले सबैको माया र सद्भावले आफू स्वास्थ्यलाभ गरी फर्किन पाएको भन्दै आभार व्यक्त गरे। चीनमा उपचारका क्रममा पनि नेपालको राजनीति र समग्र अवस्थाबारे चासो तथा चिन्ता राख्ने गरेको उनले उल्लेख गरे।
उनले स्वास्थ्यलाभपछि पुन: सक्रिय भएर राजनीतिमा लाग्ने बताए। ‘सक्रिय राजनीतिमा छु। स्वास्थ्यलाभपछि अझै सक्रिय रहने सोच बनाएको छु,’ पुनले भने।
पूर्व अर्थ तथा उर्जामन्त्री रहेका पुन जटिल प्रकारको वंशानुगत जन्डिस बल्झिएपछि गत फागुन १ गते उपचारका लागि चीन गएका थिए। त्यसअघि पनि उनको चीनमा उपचार भएको थियो। उनको चीनको सेन्जेनस्थित चर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।