काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले चुनौती दिँदै आफूमाथिका आरोप प्रमाणित भए राजीनामा दिने बताएका छन्। आफूमाथिका आरोपमा कुनै सत्यता नरहेको उल्लेख गर्दै कार्कीले सांसदहरुलाई अनुसन्धान गराइदिन चुनौती दिएका हुन्।
संसदीय सुनुवाइ समितिमा सांसदले गरेका प्रश्नको उत्तर दिँदै उनले भने, ‘ममाथि लागेको आरोपका विषयमा यहाँहरुले अनुसन्धान गराइदिनुहोस्। जुनसुकै निकायबाट अनुसन्धान गरियोस्। म यथोचित सहनेछु।’
जग्गाका विषयमा लागेको आरोपबारे उनले आफू कहिल्यै कुनै मालपोत नपसेको बताए। २०४२ सालदेखि हालसम्म त्यस्ता मुद्दामा वकालत समेत नगरेको बताए।
उनले भने, ‘अपवादमा कुनै मुद्दामा छिरेको भए, थाहा छैन। तर २०४२ सालदेखि अहिलेसम्म मुद्दा दर्ताका विषयलाई लिएर कुनै पनि मालपोतमा पसेको छैन। प्रमाणित भएको भोलिपल्ट राजीनामा दिन्छु।’
आफू कानुन व्यवसायी हुँदादेखि न्यायपालिका शुद्ध हुनुपर्छ भनेर लागेको उनको दाबी छ। ‘न्याय किनबेच सह्य हुँदैन भन्ने मान्छे हो। त्यही मान्यता छ। सदासर्वदा त्यसैका लागि छु,’ कार्कीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।