काठमाडौं- प्रतिनिधि सभाको बिहीबारको बैठकमा कांग्रेस सांसद शान्ति विकले जातीय विभेदकै कारण दलितहरुले कहिलेसम्म मर्नुपर्ने र जेलनेल सहनु पर्ने हो? भन्दै सरकारलाई प्रश्न गरेकी छन्।
सांसद विकले बाग्लुङमा भएको एक अन्तरजातीय प्रेममा दलित युवामाथि गम्भीर जालझेल गरी फसाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
सांसद विकका अनुसार बाग्लुङका प्रभात बस्याल र प्रीति घिमिरे प्रेममा रहेको र प्रीतिको परिवारले नस्वीकार्ने भएपछि उनीहरु भारतमा प्रभातको आफन्तको घरमा पुगेको अवस्थामा प्रीतिको परिवारले दुवैलाई स्वीकार गर्ने बहानामा बोलाई प्रभातमाथि कुटपिट गरेर झुटा मुद्दा चलाइएको जनाएकी छिन्।
‘प्रभातमाथि कुटपिट गर्नुका साथै बलात्कार, अपहरण र शरीर बन्धकको झुटा मुद्दा जाहेर गरिएको छ। जातीय विभेदको कारण कति र कहिलेसम्म मृत्यु र जेलनेल सहनु पर्ने हो?,’ सरकारलाई प्रश्न गर्दै सांसद विकले भनिन्, ‘प्रभात बस्याललाई निसर्त रिहाइको माग गर्दै सरकार र सदनमा उपस्थित माननीयहरुलाई यो विषयमा गम्भीर भइदिन आग्रह गर्छु।’
यस्तै, रास्वपा सांसद शिव नेपालीले पनि दलितमाथि अन्यायको शृखंला नरोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
‘प्रेम गरेकै कारण बाग्लुङका प्रभात बस्याल जातीय भेदभावका कारण अपहरण र जबरजस्ती करणी जस्तो जगन्य अपराधको भागी हुनु परेको छ,’ सांसद नेपालीले भने, ‘यस विषयलाई गम्भीरतापूर्वक छानबिन होस् भनी सरकारको ध्यानाकर्षण गराउन चाहान्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।