काठमाडौं– नेकपा एमालेका सांसद रघुजी पन्तले भारतको संसद् भवनमा अखण्ड भारतको नाममा नेपालको भूमि समेटिएको नक्शा राखिएको सम्बन्धमा सरकारले कुटनीतिक नोट पठाउनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाली भूमि भारतीय नक्शामा समेटिँदासमेत राज्य मौन भएको भन्दै यस्तो मौनता देशको स्वाधिनताप्रतिको बेवास्ता भएको आरोप लगाए।
उनले सो नक्शाप्रति नेपालले विरोध जनाउँदै भारत सरकारलाई तत्काल कुटनीतिक नोट पठाउन सरकारसँग माग गरे। उनले कुटनीतिक नोट पठाएर संसद्लाई जानकारी गराउनसमेत माग गरे।
उनले भने, ‘यस्तो नक्शाप्रति हाम्रो मौनता देशको स्वाधिनताप्रति को बेवास्ता हो। त्यसैले यस्तो नक्शाप्रति विरोध जनाउँदै नेपाल सरकारले भारत सरकारलाई तत्काल कुटनीतिक नोट पठाएर संसदलाई जानकारी दिन माग गर्दछु।’
सांसद पन्तले नेपालको परराष्ट्र नीतिमा खलबल उत्पन्न हुन थालेको बताए। केही दिनअघि एक सञ्चार माध्यमसँगको अन्तर्वार्तामा भारतका लागि नेपाली राजदुत शंकर शर्माले हिन्दू राष्ट्रको पक्षमा वकालत गरेको भन्दै उनले यसबारेमा सरकारको स्पष्ट धारणाको माग गरे। उनले इपिजी प्रतिवेदनको सम्बन्धमा राजदूतले दिएको वक्तव्यको पनि विरोध गरे।
उनले भने, ‘के इपिजि प्रतिवदेनको बारेमा राजदूतले व्यक्त गरेको विचारले नेपाल सरकारको प्रतिनिधित्व गर्छ? गर्छ भने यो अत्यन्त आपत्तिजनक र खेदजनक छ। इपिजी प्रतिवेदनबारे नेपाल सरकारले संसद्लाई आफ्नो स्पष्ट दृष्टिकोण बताउनुपर्यो। के सरकारको दृष्टिकोण हिन्दू राष्ट्रको नारालाई प्रोत्साहन दिने हो? धर्म निरपेक्षबारे नेपाल सरकारको दृष्टिकोण के हो? यो संसद्लाई स्पष्ट पारियोस्। के नेपाल हिन्दू राष्ट्र भएमात्र दुई देशको सम्बन्ध राम्रो हुने हो? त्यसो हो भने २०४६ सालभन्दा अगाडिदेखि हिन्दू राष्ट्र थियो। ०४६ सालमा किन नाकाबन्दी लगाएको? किन त्यो बेलामा राम्रो सम्बन्ध हुन सकेन? यसको जवाफ चाहियो?’
उनले राजदूत शर्माले १४ महिनापछि मात्रै भारतीय विदेशमन्त्रीलाई भेट गर्न पाएको भन्दै नेपाललाई हेपिएको कारण समयमै भेट हुन नसकेको उल्लेख गरे। उनले सो हेपाइप्रति प्रतिरोध गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।