काठमाडौं- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई ‘गेरुवस्त्रधारी सरकार’ले सम्बोधन गरेका छन्। बिहीबार प्रतिनिधि सभामा धारणा राख्दै उनले सरकार गरिबका लागि नभएको बताए।
उनले सर्लाही वरथवामा प्रहरीले खसी मागेको र नदिएको भन्दै भन्सारमा बुझाइदिएको बताए। आवश्यक कागजपत्र हुँदाहुँदै प्रहरीले च्यातेर फालिदिएको उनको भनाइ छ।
‘गेरुवस्त्रधारी सरकारको ‘क्लियर प्लान’ छ। यो देशमा मुस्लिम बस्न पाउनुहुँदैन। दलित बस्नुहुँदैन। त्यसैले उहाँले आफ्नो मन्त्रिमण्डलमा पनि राख्नुभएको छैन। गेरुवावस्त्रको नशामा जनतालाई दुःख दिने काम नहोस्’, उनले भने।
सरकार मदमस्त रहेको र आफूहरुले जे गरे पनि छुट छ भन्ने सोचमा काम गरिरहेको उनको आरोप छ। ‘बजेट लुटे पनि ठीक छ। चार जनाले बजेट लुटेको छ। हामी सांसद मौन छौं। जनता दिनदहाडै आत्मदाह गरिरहेका हुन्छन्। तर सरकार गेरुवावस्त्र धारण गरेर मन्दिरमन्दिर घुमिरहेका हुन्छन्’, उनले भने।
सिंहले ‘गेरुवावस्त्रधारण रुपी सरकार’लाई समयमै होसमा आउन आग्रह गरे। ‘जनतालाई धेरै दुःख नदिनुस्। तपाईंहरुको निजी सम्पत्ति होइन। बजेट लुट्ने। साढे तीन करोड, चार करोडको पजेरो चढ्ने। हेलिकोप्टर चढ्ने। प्लेन चढ्ने। र गरिब जनतालाई यो देशमा बस्न नदिने’, उनले भने।
प्रधानमन्त्रीको आँखाअगाडि आत्मदाह गरेर नेपाली व्यवसायीको मृत्यु भएपछि अहिलेको सरकार सुरु भएको भन्दै फेरि अर्को एक जनाले आत्मदाहको प्रयास गरेको बताए। उनको प्रश्न छ, ‘के यो सरकार आत्मदाह गराउनका लागि बनेको हो? अरु सरकारको पालामा आत्मदाह नहुने, यही सरकारको पालामा हुने।’
'रोम जलिरहेको थियो, निरो बाँसुरी बजाइरहेको' भन्ने सोचबाट सरकार सोचिरहेको सिंहको आरोप छ। 'प्रधानमन्त्री पजेरोमा चढेर घुमिरहनुभएको छ। उहाँ वरिपरिका मान्छे भ्रष्टाचार गरिरहेका छन्। आफन्तको नियुक्ति भइरहेको छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।