काठमाडौं– जनमत पार्टीकी सांसद विनिता कुमारी सिंहले चुरे उत्खनन गरेर ढुङ्गा गिटी निकासीले तराईमा भोकमरी सिर्जना गर्ने चिन्ता व्यक्त गरेकी छन्।
सरकारले आर्थिक वर्ष ८०/८१ को बजेटमा चुर उत्खनन गरेर बेच्ने कार्यक्रम राखेको छ। सोही विषयलाई लिएर प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद सिंहले चिन्ता व्यक्त गरेकी हुन्।
‘चुरे उत्खनन् गरेर भारत निकासी गर्ने कुरा अभिलम्ब रोक्नुपर्छ। चुरे पर्वतको दोहनले गर्दा पानीको मुहान सुक्ने र तराई मधेशको खेती योग्य जमिन मरुभूमिमा परिणत हुने देखिन्छ। साथै भविष्यमा भोकमरीको अवस्था सिर्जना हुनेछ,’ सांसद सिंहले भनिन्।
सांसद सिंहले राज्यले चुरेलाई संरक्षण गर्न विशेष योजना ल्याउन आग्रह पनि गरेकी छन्। ‘राज्यले चुरे पर्वत क्षेत्रलाई विशेष प्राथमिकतामा राखी संरक्षण र सम्वर्द्धनका लागि सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।