कैलाली- ‘एउटै प्रकारका घटना घटेका छन् तर राहत केही व्यक्तिलाई मात्र किन?’
प्रदेश ७ का सांसदहरुले आइतबार प्रदेशसभामा सरकारको कामप्रति जिज्ञासा राखे। कैलाली र कञ्चनपुरमा सरकार गठनयता तीन ज्यान बालक तथा युवतीको बलात्कारपछि हत्या गरिएको छ। तर, सरकारले निर्मला पन्तका आफन्तलाई मात्र राहत घोषणा गरेको प्रति संसदमा प्रदेशका सांसदहरुले आपत्ति जनाएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले भने, ‘कञ्चनपुरकी कविता विष्ट र माया विकको पनि बलात्कारपछि हत्या भएको थियो। तर, सरकारले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न सकेको छैन।’
उनले प्रश्न गरे, ‘के माया विक र कविता विष्टका आफन्तले पनि आन्दोलन गरी गोली खाएर मान्छे मरेपछि मात्र राहतको प्याकेज पाउने हो?' उनले सरकारलाई राहत वितरणमा विभेद नगर्न आग्रह गरे।
नेता रावलले भने निर्मला पन्तको घटनाबारे प्रदेश सरकारले के गरिरहेको छ भनी पटक–पटक सदनमा माग भयो। उनले निर्मलाको घटनामात्र नभई सदनमा बाढी, पहिरोबाट पीडितले राहत नपाएको, हत्या–हिंसाका घटना बढ्दै गएकाप्रति थुप्रै पटक सरकारको सदनबाट ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताए।
प्रदेशका प्रतिपक्ष दल राष्ट्रिय जनता पार्टीका सांसद कृष्णबहादुर चौधरीले पनि गुनासो गरेका छन्। ‘निर्मलाका आफन्तलाई संघीयले १० लाख, प्रदेशले ५ लाख र स्थानीय तहले ३ लाख दिने घोषणा गरेको सुनेको छु। त्यो घोषणा घोषणामा सीमित नहोस्।’ उनले माया विकका हत्यारालाई कारबाही भएको तर, आफन्तलाई सरकारले कुनै क्षतिपूर्ति तथा राहत वितरण नगरेको प्रति गुनासो पोखे।
उनले २०७२ सालमा भएको टीकापुर घटनाको तीन वर्ष भइसक्दा समेत सरकारले राजनीतिक मुद्दा बनाउन नसकेको गुनासो गरे।
नेकपाका सांसद महेशदत्त जोशीले निर्मला पन्तको घटनामा दोषीलाई कुनै पनि राजनीतिक आडमा छुट्याउने प्रयास नगर्न सरकारसँग माग गरे। आन्दोलनमा गोली चलाउने व्यक्तिमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन पनि उनले आग्रह गरे।
माया परिवारलाई ५ लाख
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले कैलालीको गौरीगंगा नगरपालिकामा बलात्कारपछि हत्या भएकी माया विकका आफन्तलाई ५ लाख दिने निर्णय गरेको सदनमा जानकारी दिए।
उनले निर्मला पन्त र सनी खुनालाई शनिबार नै ५ लाख दिने घोषणा भइसकेको र आइतबार बसेको मन्त्रिपरिषदले पन्त, खुना सहित माया विकका आफन्तलाई ५ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।
उनले कृष्णपुर नगरपालिकाकी कविता विष्टको घटनामा संलग्न रहेका व्यक्तिहरु पक्राउ परिसकेको र अनुसन्धान जारी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।