काठमाडौं- माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको कोशी प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ।
विराटनगरस्थित प्रदेश सभा भवनमा बुधबार प्रदेश प्रमुख परशुराम खापुङले कृषिमार्फत् रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिकमैत्री सेवा, बहुवर्षीय आयोजना सम्पन्न गर्ने तथा विपद व्यवस्थापनका लागि अन्तरनिकाय सम्बन्धलाई सुदृढ बनाउने, शिक्षालाई रोजगारमूलक एवं सूचना प्रविधिमैत्री बनाउनेमा जोड दिएको कार्यक्रम प्रस्तुत गरेका हुन्।
यसपटकको कार्यक्रममा प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, आन्तरिक राजस्व वृद्धिका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ। स्थानीय तहका स्वीकृत रिक्त दरबन्दीमा कर्मचारी पदपूर्ति प्रणालीलाई छिटो, छरितो, गुणस्तरीय बनाउन कानुनी र संरचनागत सुधार गर्दै लैजाने, प्रदेशस्तरीय सञ्चार माध्यमलाई नियमन गर्न आवश्यक कानुन निर्माण गरिने जनाइएको छ।
स्थानीय तहसँगको साझेदारीमा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन थप कार्यक्रम सञ्चालन गरिने विषयसमेत समेटिएको कार्यक्रममा कृषि क्षेत्रमा सानो लगानीबाट स्वरोजगार हुन चाहने युवाहरुलाई विभिन्न व्यवसाय सञ्चालन गर्न सहुलियतमा कर्जा तथा सहयोग उपलब्ध गराउने जनाइएको छ।
स्थानीय तहसँगको सहकार्यमा सितभण्डार निर्माण तथा सञ्चालनमा सहकार्य गरिने र एक स्थानीय तह एक उत्पादन कार्यक्रमलाई व्यवस्थित गर्दै लगिने बताइएको छ। प्रदेश सरकारको कार्यसञ्चालन गर्न प्रदेशको राजधानीभित्र प्राप्त हुने जग्गामा भौतिक संरचना निर्माणका लागि गुरुयोजना तयार गरिने कुरा उल्लेख गरिएको छ।
त्यसैगरी, विराटनगर महानगरपालिकामा रहेको बैजनाथपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक क्रिकेट मैदान बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।
सरकारले पेस गरेको नीति तथा कार्यक्रम पारित हुने अंक गणित एमालेसँग छैन। एमाले नेतृत्वको सरकारले केही दिनमा विश्वासको मत पनि लिनुपर्ने छ। यही कुरालाई ख्याल गर्दै प्रदेश सरकारले नीति तथा कार्यक्रम पेस गर्ने अनि प्रदेश सभा अन्त्य गर्दै अध्यादेश मार्फत बजेट पनि ल्याउने तयारी गरेको छ। कोशी प्रदेशमा केन्द्रित सत्ता गठबन्धनले नयाँ सरकार बनाउने कोशिस गरिरहेको छ। तर बहुमत नपुग्दा समस्या भइरहेको छ।
यस्तो छ नीति तथा कार्यक्रम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।