काठमाडौं– उखु किसानका समस्या समाधान गर्न कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन भएको छ।
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकले पाँच सदस्यीय चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन गरेको हो।
समिति सचिव रामकुमार पौडेलले उखु किसान र उद्योगबीचका समस्या अध्ययन गरी समाधान गर्नको लागि समिति सदस्य कृष्णकुमार श्रेष्ठ संयोजक रहने गरी पाँच सदस्यीय उपसमिति गठन भएको बताए।
उपसमिति सदस्यहरुमा कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव र सूर्यमान दोङ तामाङ रहेका छन्। उनले समितिलाई अध्ययन प्रतिवेदनको लागि एक महिनाको समय दिइएको बताए।
समितिले उद्योगी व्यवसायीहरु सहितको छलफल गरेर अध्ययन प्रतिवेदन समिति बैठकमा पेस गर्ने कार्यदेश दिएको पनि बताए। बैठकमा समिति सदस्य कृष्णकुमार श्रेष्ठले उखु किसानहरुलाई धेरै समस्या रहेको भन्दै उनले उखु किसानका समस्या समाधानको लागि समितिले तत्काल कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए। उनले मलेसिया लगायतका देशमा जान फ्रि भिसा फ्रि टिकटको कानुन नेपालले मात्रै बनाएर नहुने बताए।
उनले नेपाली कामदार लिने देशले पनि त्यही खालको कानुन बनाउनुपर्ने बताए। त्यस्तै, सांसद वीरेन्द्रबहादुर शाहीले नेपाल आयल निगम कुन अवस्थामा रहेको भन्ने बारेमा समितिले अध्ययन गर्न आवश्यक रहेको बताए। उनले सरकारले पेट्रोलियमको मूल्य लोकप्रियताको लागि तत्काल धेरै घटाउने अवस्था रहेको बताए।
उनले निगमको पेट्रोलियम पदार्थ वितरणको विषयमा पनि अध्ययन गर्न आवश्यक रहेको बताए। उनले पेट्रोलियम पदार्थ प्रयोग गर्ने किसान र अन्य प्रयोगकर्तामा फरक–फरक मूल्य निर्धारण गर्न आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।