काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले नेपाली भएर पनि नागरिकता नपाएकाहरुको न्यायका लागि सत्याग्रहमा बस्ने घोषणा गरेका छन्।
बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संविधान सभा सदस्यसमेत रहेका उनले नागरिकता विधेयकसम्बन्धी आदेश अविलम्ब सर्वोच्च अदालतबाट नआए सत्याग्रहमा बस्ने चेतावनी दिएका हुन्।
नागरिकतासम्बन्धी आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौं नेपाली युवा विचल्लीमा परेकाले अविलम्ब नागरिकता प्रदान गर्ने फैसला सर्वोच्च अदातले गर्नुपर्ने उनको माग छ।
उनले नागरिकता प्रदान गर्ने आदेश अविलम्ब नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिए। नेपालको संविधान २०७२ जारी भएको करिब ८ वर्ष भइसकेको र संविधान जारी भएको मितिले ३ वर्षभित्र संघीय संसद्बाट कानुन बनाएर पूर्ण रूपमा कार्यान्वयन गरिने भनिए पनि राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने उनले बताए।
नागरिकता विधेयक संघीय संसद्बाट पारित भएर राजपत्रमा प्रकाशित भइसक्दासमेत अनेक बाहनामा कार्यान्वयन नगर्न षड्यन्त्र हुँदै आइरहेको उनले आरोप लगाए। शर्माले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।