काठमाडौं– गत फागुन महिनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटनाको मुख्य कारण पाइलट नै भएको छानबिन समितिको प्रतिवेदनले उल्लेख गरेको छ। ५१ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटना हुुनुभन्दा पहिले पाइलट निकै आत्तिएकोले आफैंलाई सम्हाल्न नसक्दा विमान दुर्घटना हुन पुगेको प्रतिवेदनको मस्यौदामा उल्लेख गरिएको बताइएको छ।
गत फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट यात्रुु लिएर नेपाल आउँदै गरेको विमान दुर्घटनामा परेपछि छानबिन समिति गठन गरिएको थियो।
‘पाइलट निकै तनावमा परेको र भावनात्मक रुपमा समेत कमजोर बन्न पुगेकाले दुर्घटना भएको’ छानबिन समितिको अन्तिम प्रतिवेदनको मस्यौदामा उल्लेख छ। विमान नियन्त्रण बाहिर जान थालेपछि सह चालकले मुख्य चालकप्रति ‘कुशल चालक भएकोमा प्रश्न उठाएपछि’ उनी निकै तनावमा परेको बताइएको छ।
‘यसले विमानका चालकदलबीच नै असमझदारी उत्पन्न भएको र उडान अवधिमा मुख्य पाइलट थुप्रै पटक भावनात्मक रुपमा कमजोर बन्न पुगेका थिए।’ विमान चालक अबिद सुल्तान ‘उडानका क्रममा धेरै पटक रोएको र चिच्याएका थिए’ प्रतिवेदनको मस्यौदामा उल्लेख छ।
बंगलादेश–काठमाडौंको थुप्रै पटक उडान भरेका सुल्तानले आफूभन्दा जुनियर पाइलटलाई प्रभावित पार्न निरन्तर कुराकानी गरिरहन्थे।
विमान दुर्घटना भएका दिन निरन्तर मनमा धेरै कुरा खेलाएका सुल्तानका कारण सहचालक पृथुला रसिद पनि ‘पूर्ण रुपमा विचलित थिइन्’। उनी पहिलो पटक काठमाडौँ उत्रिन लागेकी थिइन्। दुर्घटनमा दुवै पाइलटको मृत्यु भएको थियो।
विमानस्थलका दुई वटा धावनमार्गका ‘जिरो टु’ र ‘टु जिरो’ बारेमा एटीसीका कर्मचारीले दिएको निर्देशन पूर्ण रुपमा बुझ्न नसक्दा अल्मलिएका भएपनि धावनमार्ग विषयमा भएको अस्पष्ट संचारका कारण दुर्घटना नभएको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।