काठमाडौं– चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गरेका छन्।
अध्यक्ष तिमिल्सिनासँग डोङले पिपुल्स बिल्डिङमा शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औधोगिक सहर सांघाईको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने कुरामा जोड दिए।
यसका साथै सांघाईबाट काठमाडौं र पोखरा सीधा उडान हुँदा त्यसले गर्दा सांघाईको औद्योगिक र व्यापारिक क्षेत्रको पनि नेपालले लाभ लिनसक्ने उल्लेख गरे। सीधा उडान हुँदा नेपाली व्यापारीहरू पनि सोझै आउन सक्ने र यहाँबाट धार्मिक पर्यटकहरू लुम्बिनी जान सक्ने र अन्य पर्यटकहरु पोखरा जान सक्ने उनको भनाइ थियो।
अध्यक्ष तिमिल्सिनाले पोखरा महानगरले सांघाई सहरसँग भगिनी सम्बन्ध राख्ने चाहना व्यक्त गरेको त्यहाँका अधिकारीहरुलाई जानकारी गराएका छन्। चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले सांघाई सबैभन्दा ठूलो आर्थिक केन्द्र सहर भएको र यसले चीन र नेपालबीचको अन्तर सम्बन्ध बढाउने, अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा दुई स्थानबीचको सहयोगको प्रवाहलाई अझ प्रगाढ बनाउने र दुई देशका जनतालाई फाइदा पुर्याउन मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तर विस्तार गर्ने बताए।
भेटमा नेपालको संसदीय प्रतिनिधि मण्डलका सदस्यका साथै चीनको सांघाईका नेसनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिका सदस्य, राष्ट्रिय जनकांग्रेसको विदेश मामिला समितिका उपाध्यक्ष तथा राष्ट्रिय जनकांग्रेसको चीन–नेपाल मैत्री समूहका उपप्रमुख वाङ के र सांघाई म्युनिसिपल पिपुल्स कङ्ग्रेसको स्थायी समितिका महासचिव सी जियाङगाङ लगायत सहभागी थिए।
अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डलले सांघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई ग्रामीण योजना प्रर्दशनी केन्द्र, चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन केन्द्रलगायतका स्थलहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ।
अध्यक्ष तिमिल्सिनाले यसअघि भ्रमणका क्रममा बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गरेका थिए। वार्ताका क्रममा चीनको छेन्दुबाट पोखरासम्म सिधा हवाई उडान सुरु गर्ने विषयले प्रमुखता पाएको थियो। अध्यक्ष तिमिल्सिनासहितको ९ सदस्यीय नेपाली प्रतिनिधि मण्डल बिहीबार तिब्बततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।