काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा दर्ता भएको उजुरीमाथि बुधबार छलफल हुँदैछ। संसदीय सुनुवाई विशेष समितिले कार्कीमाथि परेको उजुरी र उजुरीकर्ताहरुसँग छलफल गर्न लागेको हो। कार्कीविरुद्ध सामूहिक र व्यक्तिगत गरी २९ थान उजुरी दर्ता भएको छ।
बुधबार उजुरीमाथि छलफल गरेपछि बिहीबार समितिले सुनुवाइ गर्दै अनुमोदनको निर्णय गर्ने तयारी गरेको छ। कार्की प्रधानन्यायाधीशको रुपमा साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका हुन्।
संघीय संयुक्त संसद्को नियमावलीमा भएको व्यवस्था अनुसार प्रस्तावित प्रधानन्यायाधीश कार्की अनुमोदन हुने पक्का छ। संसदीय सुनुवाइमा प्रस्ताव अनुमोदनको लागि बहुमत भए पुग्ने र अनुमोदन नगर्न दुई तिहाइ सदस्यको मत चाहिने भएकाले समितिमा रहेको मतको आधारमा कार्की छोटो समयको लागि प्रधानन्यायाधीश बन्ने संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले बताए।
प्रस्तावित व्यक्ति अनुमोदन हुने/नहुने भन्ने समितिले निर्णय गर्ने विषय भएको र समितिको बैठकले नियमावली बमोजिम दुई तिहाइबाट अस्वीकृत भएन भने अनुमोदन भएको मान्नुपर्ने संवैधानिक व्यवस्था रहेको उनले बताए।
संसदीय सुनुवाइ विशेष समितिको संरचनामा सत्तापक्षका सांसदहरुको बहुमत भएकाले कार्कीको नाम अस्वीकृत हुने सम्भावना कम छ। अनुमोदनपछि प्रधानन्यायाधीश कार्कीले आफ्नो काम नियमित रुपमा असार २० गतेसम्म मात्र गर्नेछन्। प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा १ महिनाअघि बिदामा बस्ने चलन छ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। संसदीय सुनुवाइ सुरु गर्न संसदबाट सुनुवाइ समिति गठन नहुँदा लामो समय सुनुवाइ प्रभावित बनेको थियो।
गत जेठ १४ गते संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली पारित भएसँगै सुनुवाइ समिति गठनको बाटो खुलेको थियो। सदनले सोही दिन समिति गठन गरेसँगै समितिले जेठ १७ गते सार्वजनिक सूचनामार्फत १० दिनको समय दिई कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो। उजुरी आह्वानपछि कार्कीलाई प्रधानन्यायाधीश बनाउन नहुने भन्दै २९ वटा उजुरी दर्ता भएका थिए।
जसमध्ये ५ उजुरी इमेलमार्फत आएका छन् भने २४ वटा उजुरी लिखित आएका थिए। उजुरीमा कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति हुन अयोग्य रहेको दाबी गरिएको छ। प्रधानन्यायाधीशमा सिफारिस भएका व्यक्तिविरुद्ध जोकोहीले पनि उजुरी दिन सक्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।