काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राम्रो कुराको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी भएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले वर्तमान अवस्था आफूहरु सजिलो बलियो बनेको स्थितिबाट भएको नभइ अप्ठ्यारो, जटिलता र धेरैखालका घेराबन्दीका बीचबाट लिइएको पहल बताए।
सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अतालिएको बताएका छन्। प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले भने, ‘जनतालाई प्रत्यक्ष सेवा दिनेकुरा, विदेशमा गएका नेपालीहरुलाई सम्बोधन गर्ने कुरा, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसंगति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ। यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरु अतालिएका छन्।’ उनले तिनीहरु अजेण्डाबिहीन बनेका र जनतामा नाङ्गिएको पनि बताए।
प्रत्रानमन्त्रीले राम्रो काम गरेर मात्रै नभइ राम्रो काम राम्रो हो भनेर जनता बुझाउने कुरा मुख्य भएको उल्लेख गरे।
प्रेस सेन्टर नेपालले विभिन्न १४ बुँदामा देश, जनता र श्रमजीवि पत्रकारहरुले भोग्नु परेका समस्याका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ। संगठनले संविधानले सुनिश्चित गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत जनपक्षीय उपलब्धिहरु थप संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि परिवर्तन पक्षधर शक्तिहरुको एकता अपरिहार्य पनि भएको पत्रमा उल्लेख छ।
प्रेस सेन्टरले संविधान र संविधानले प्रद्दत गरेका उपलब्धी रक्षाका लागि उभिएका शक्तिहरुबीचको एकता विगतका कमजोरीहरु सच्याउँदै आगामी दिनमा थप मजबुत बनाएर प्रतिगामी शक्तिलाई परास्त गर्ने गरी वर्तमान सरकारले सहकार्य गर्ने विश्वास गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।