काठमाडौ– पद्मकन्या बहुमुखी क्याम्पस पढेका र क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनमा विजयी भएर जिम्मेवारी सम्हालेका पूर्व विद्यार्थीको सक्रियतामा ‘पद्यमकन्या बहुमुखी क्याम्पस एलुम्नाई एसोसिएसन नेपाल’ गठन गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी पूर्वमन्त्री तथा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनकी पूर्व सभापति महालक्ष्मी डिना उपाध्यायको अध्यक्षतामा गठित समितिमा १८ जना सदस्य छन्।




६७औं वर्ष पार गरेको क्याम्पसको गरिमामय इतिहास संरक्षण र संवर्धन गर्दै संस्थागत संरचना तयार गरी कलेज परिवार र विद्यार्थीको हित, उन्नति, प्रगति तथा आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा काम गर्ने उद्देश्य रहेको अध्यक्ष उपाध्यायले जानकारी दिइन्।
क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थी महिलाहरू नेपालको राजनीतिक, आर्थिक, सामाजिक र संस्कृतिक क्षेत्रमा आमूल परिवर्तन गर्न संलग्न रहेको जानकारी दिन सोमबार क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उपाध्यायले अध्यक्ष उपाध्यायले उल्लेख गरिन्। क्याम्पसका पूर्व विद्यार्थीले अहिले राष्ट्र र समाजको हरेक क्षेत्रको रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताइन्।
समितिको उपाध्यक्षमा रिना उप्रेती, महासचिवमा प्रतिमा गौतम, सचिवमा जमुना केसी र कोषाध्यक्षमा बिनिता अधिकारी रहेका छन्। पदाधिकारी भएका सबै जना क्याम्पसको स्ववियुमा पदाधिकारीको जिम्मेवारी सम्हालिसकेका नेतृहरू हुन्। त्यस्तै एसोसिएसनको सदस्यमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कमला पन्तसमेत रहेकी छिन्।
पछिल्लो समय महिला हिंसा, बलात्कार र हत्याजस्ता जघन्य अपराधिक क्रियाकलाप बढ्दै गएकाले त्यसको निराकरणको लागि समेत प्रतिबद्धताका साथ एकबद्ध भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ। एसोसिएसनले महिलालक्षित कार्यक्रम, समाजमा विद्यमान महिलाप्रति हुने विभेदको अन्त्यका लागि क्रियाशील रहँदै नीतिनिर्माण तहसम्म आवाज बुलन्द बनाउने अध्यक्ष उपाध्यायले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।