काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने बताएका छन्।
‘राष्ट्रियता कमजोर भएको छ, विदेशी हस्तक्षेप र प्रभाव बढेर गएको छ, इतिहासकै डरलाग्दो आर्थिक मन्दी छ, भ्रष्टाचार संस्थागत भएको छ, बेरोजगारी र महंगीले आकाश छोएको छ’, थापाले भने, ‘यो क्रम जारी रहने हो, यथास्थिति मै मुलुक रहिरहने हो भने दुर्घटना अवश्यंभावी छ।’
काठमाडौंका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै थापाले बजेटले कुनै आशाको किरण दिन नसकेको भन्दै मुलुकको जर्जर आर्थिक अवस्थालाई बजेटले सम्बोधन गर्न नसकेकोमा तीव्र आलोचना गरे।
सस्तो लोकप्रियता र तालीको लागिभन्दा मुलुकको समस्याको दिगो समाधानतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा थापाको जोड थियो। राप्रपा नेपाललाई सडक केन्द्रित बनाउँदै जनताको माझमा जाने नीति अनुरुप काम गर्नसमेत उनले कार्यकर्ताहरुलाई निर्देशन दिए।
कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, बागमती प्रदेश इन्चार्ज माधव खत्री, काठमाडौं अध्यक्ष श्याम घिमिरे लगायत जनवर्गीय संगठनका अध्यक्षहरुले बोल्दै आगामी कार्यक्रमको खाका प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।