काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित ६ जनाको बहस बाँकी रहेको छ।
सोमबार गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेसहित ४ जना प्रतिवादीको पक्षमा बहस भयो। मंगलवार पूर्व गृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहसका लागि कानुन व्यवसायीले वकालतनामा दिएका छन्।
खाणको पक्षमा बसहका लागि नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका छन्। खाण, पूर्व सांसद आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जन तथा शरणार्थी नेता टेकनाथ रिजालसहितको प्रतिरक्षा बहस बाँकी छ।
उनीहरुको बहस गर्ने समय मंगलबारमात्र बाँकी छ। न्यायाधीश न्यौपानेले मंगलबारसम्म सबै अभियुक्तको बहस सक्न यसअघि नै समय निर्धारण गरेका थिए।
बहस सुरु भएकै दिन उनले सरकारी पक्षलाई ३ र प्रतिवादीहरुलाई ६ दिनको समय तोकेका थिए। उनीहरुलाई बहसमा समय व्यवस्थापन गर्न न्यायाधीश न्यौपानेले पटक पटक आग्रह गर्दै आएका छन्।
तर वरिष्ठ अधिवक्ता र केही अधिवक्ताहरुले लामो समय लिँदा तोकिएको समयमा बहस नसकिने देखिएको छ। प्रतिवादीका कानुन व्यवसायीहरुले थप समय माग गर्ने तयारी गरेका छन्। इजलासले समय दिएमा उनीहरुले थप समय पाउने छन्।
समय नदिएमा मंगलबार सक्नुपर्ने छ। बुधबार सरकारी वकिलहरुले जवाफी बहस गर्नेछन्। उनीहरुको बहसपछि अदालतले थुनछेक आदेश सुनाउने छ। न्यायाधीश न्यौपानेले सरकार र प्रतिवादीका कानुन व्यवसायीको बहस र अभियोगपत्रको अध्ययन गर्दै पूर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने निर्णय गर्ने छन्।
थुनामा पठाएमा उनीहरु फैसला नभएसम्म न्यायिक हिरासतमा बस्नुपर्ने छ। धरौटी माग गरेमा तोकिएको धरौटी बुझाएर रिहा हुने छन्। जिल्लाको निर्णय चित्त नबुझेमा उनीहरु उच्च अदालत हुँदै सर्वोच्चसम्म जान सक्नेछन्।
सरकारी वकिलको कार्यालयले सक्न भनेका छन्। गत बुधबारदेखि प्रतिवादीहरुको तर्फबाट वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।